रूस र युक्रेन युद्धबन्दी साटासाट गर्न सहमत, युद्ध अन्त्यमा अझै अन्योल
रूस र युक्रेन युद्धबन्दी साटासाट गर्न सैद्धान्तिक रूपमा सहमत भएका छन्। संयुक्त अरब इमिरेट्स (यूएई) को अबुधाबीमा दुई दिनसम्म चलेको शान्ति वार्तामा दुवै देशबीच यस्तो सहमति भएको हो।
तर युद्ध अन्त्य गर्ने मुख्य विषयमा भने सहमति जुट्न सकेको छैन। विशेषगरी भूभागको स्वामित्वसम्बन्धी विवाद शान्ति वार्ताको प्रमुख चुनौती बनेको छ।
नौ महिनापछि पहिलोपटक भएको प्रत्यक्ष वार्तामा युद्धबन्दी साटासाट गर्ने सहमति जुटेको हो। त्यसको सङ्ख्या बिहीबार टुङ्गो लगाइने बताइएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत जारेड कुश्नरले यो युद्ध सुरु भएयताकै सबैभन्दा ठूलो मानवीय आधारको युद्धबन्दी रिहाइ हुने बताएका छन्। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पनि यसको दायरा उल्लेखनीय हुने बताएका छन्।
वार्तामा सहभागी दुवै पक्षले प्रगति भएको बताए पनि युद्ध अन्त्य गर्ने ठोस सहमति भने हुन सकेको छैन। रूसले पूर्वी क्षेत्र डोनबासको पूरै भूभाग छाड्न युक्रेनमाथि दबाब दिँदै आएको छ भने युक्रेनले उक्त माग अस्वीकार गर्दै आएको छ।
यसैबीच, अमेरिकी विशेष दूत कुश्नर र स्टिभ विटकफ बिहीबार रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गर्न मस्को जाने कार्यक्रम छ। वार्तामा युद्धपछिको सुरक्षा प्रत्याभूति र पुनर्निर्माणका विषयसमेत उठाइने बताइएको छ।
अबुधाबीमा वार्ता भइरहेकै बेला दुवै देशले एकअर्कामाथि आक्रमण गरेको आरोप लगाएका छन्। युक्रेनले रूसी आक्रमणबाट विद्युत् पूर्वाधार र ओडेसा क्षेत्रमा क्षति पुगेको जनाएको छ भने रूसको बेलगोरोद क्षेत्रमा युक्रेनी ड्रोन आक्रमणमा एक जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन्।
यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले युक्रेन युद्ध अन्त्यका लागि सम्झौता नजिक पुगेको बताएका थिए। तर युद्ध अन्त्य गर्ने विषयमा अझै ठोस सहमति जुट्न सकेको छैन।