घोप्टेभिरमा पहिरो पन्छाएपछि सडक एकतर्फी सञ्चालनमा
पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा पहिरो पन्छाएपछि सडक एकतर्फी सञ्चालनमा ल्याइएको छ।
लगातार तीन दिन खसेको सुक्खा पहिरो पन्छाएर मङ्गलबार दिउँसो १ः४० बजेदेखि सडक एकतर्फी सञ्चालनमा ल्याइएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
पहिरो ठूलो हुनु र चाडपर्वका कारण मजदुर बिदामा जाँदा सडक दुईतर्फी सञ्चालनमा ल्याउन कठिन भएको प्रहरीले जनाएको छ।
मौसम, सवारी चाप र अन्य अवस्था हेरेर मात्र दुईतर्फी सञ्चालन गरिने जनाइएको छ। पहिरोको जोखिम कायमै रहेकाले सावधानीपूर्वक यात्रा गर्न प्रहरीले आग्रह गरेको छ।