युक्रेनलाई सहयोग गर्ने विषयमा जी–७ का विदेशमन्त्रीबीच छलफल
काठमाडौं– अमेरिकी विदेशमन्त्री मार्को रुबियोसहित जी–७ का सदस्य राष्ट्रका विदेशमन्त्रीहरूले युक्रेनलाई रुसी आक्रमणबाट जोगाउन आवश्यक सहयोगबारे छलफल गरेका छन्।
पेरिसमा भएको बैठकमा युक्रेनी विदेशमन्त्री आन्द्री सिबिहासमेत सहभागी थिए। बैठकमा रुस–युक्रेन युद्ध अन्त्य गर्ने प्रयास, ऊर्जा क्षेत्रको सुरक्षा तथा रक्षा सहयोगका विषयमा छलफल भएको हो।
यसैबीच, संयुक्त अरब इमिरेट्सको अबु धाबीमा रुस, युक्रेन र अमेरिकाबीच युद्ध अन्त्यका लागि त्रिपक्षीय वार्ता सुरु भएको छ। तर, वार्तामा युरोपेली मुलुकको सहभागितालाई लिएर मतभेद देखिएको छ।
रुसले त्रिपक्षीय वार्तामै जोड दिएको छ भने युरोपेली नेताहरूले आफ्नो सहभागिताबिना युद्धको समाधान सम्भव नहुने बताएका छन्। दुवै पक्ष आ–आफ्नो अडानमा कायम रहँदा युद्ध अन्त्यको सम्भावना अझै अनिश्चित देखिएको छ।