ज्येष्ठ नागरिकको सुविधा पाएपछि टोपबहादुर रायमाझी कारागारबाट रिहा
नक्कली भुटानी शरणार्थी प्रकरणमा कैद सजाय भोगिरहेका एमाले नेता एवं पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी रिहा भएका छन्।
६५ वर्षीय रायमाझी बिहीबार बिहान डिल्लीबजार कारागारबाट रिहा भएका हुन्। उनले ज्येष्ठ नागरिकका रूपमा पाउने कैद छुटको सुविधा पाएपछि रिहा भएका हुन्।
काठमाडौँ जिल्ला अदालतले रायमाझीको निवेदनका आधारमा ज्येष्ठ नागरिकको सुविधाअनुसार कैदमुक्त गर्न कारागारलाई पत्राचार गरेको थियो।
रायमाझी २०८० वैशाख २० गते नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका थिए। काठमाडौँ जिल्ला अदालतले २०८३ असार ३० गते उनलाई चार वर्ष कैद सजाय सुनाएको थियो।
ज्येष्ठ नागरिकसम्बन्धी कानुनी व्यवस्थाअनुसार कैद सजायमा २५ प्रतिशत छुट पाएपछि उनी रिहा भएका हुन्।