टर्कीको स्टिल कारखानामा भीषण विस्फोट, १७ जनाको मृत्यु, १२ घाइते
टर्कीको पश्चिमी क्षेत्र इज्मिर नजिकै रहेको एक स्टिल कारखानामा भएको भीषण विस्फोटमा परी १७ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्।
सोमबार आलियागास्थित हाबास डेमिर सेलिक स्टिल कारखानामा भएको दुर्घटनामा मृत्यु हुने र घाइते हुने सबै कारखानाका कामदार रहेको अधिकारीहरूले जनाएका छन्।
स्थानीय गभर्नरका अनुसार दिउँसो क्रेनमार्फत नयाँ बोयलर अर्को स्थानमा लैजाने क्रममा दुर्घटना भएको थियो। क्रेन खस्दा बोयलरसँग सम्बन्धित उपकरण भट्टीमा खसेपछि शक्तिशाली विस्फोट भएको बताइएको छ। विस्फोटपछि कारखानाभित्र भीषण आगलागी भएको थियो भने आकाशमा धुवाँको ठूलो मुस्लो देखिएको थियो।
टर्कीका राष्ट्रपति रेचेप तैयप एर्दोगानले सुरुमा दुर्घटनामा १६ जनाको मृत्यु भएको जानकारी दिएका थिए। पछि स्वास्थ्य मन्त्री केमल मेमिसोग्लुले गम्भीर घाइते एक जनाको उपचारका क्रममा मृत्यु भएको पुष्टि गरेपछि मृतकको सङ्ख्या १७ पुगेको हो। हाबास टर्कीका प्रमुख स्टिल उत्पादक कम्पनीमध्ये एक हो।