सङ्खुवासभामा चट्याङ लागेर दुई जना घाइते
सङ्खुवासभाको खाँदबारी नगरपालिका–४ सेकाहामा चट्याङ लागेर दुई जना घाइते भएका छन्।
बिहीबार साँझ करिब ६ः३० बजे वर्षासँगै आएको हावाहुरी र चट्याङ लाग्दा घरमै बसिरहेका स्थानीय ५३ वर्षीय गणेशप्रसाद गुरुङ र २२ वर्षीय सबिन गुरुङ घाइते भएका हुन्।
मकालु गाउँपालिका–५ घर भई हाल मामाघरमा बस्दै आएका सबिनको बायाँ हातमा चोट लागेको छ। उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
त्यस्तै, गणेशप्रसादको निधार र दायाँ हातमा चोट लागेको छ। उनको अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ।
घाइते दुवै जनालाई उपचारका लागि जिल्ला अस्पताल खाँदबारी लगिएको छ। उनीहरूको सोही अस्पतालमा उपचार भइरहेको छ।
घटनालगत्तै प्रहरी टोली घटनास्थल पुगेको प्रहरीले जनाएको छ।