परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका मन्त्री ताभियोबीच द्विपक्षीय भेटवार्ता
परराष्ट्रमन्त्री शिशिर खनालले फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले ताभियोसँग द्विपक्षीय भेटवार्ता गरेका छन्।
टर्किएको अन्ताल्यामा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–३१) का अवसरमा बुधबार भएको भेटवार्तामा मन्त्री खनालले हालै नेपालमा गएको विनाशकारी जलवायुजन्य बाढीपछि फिनल्यान्ड सरकार र त्यहाँका जनताले व्यक्त गरेको ऐक्यबद्धता तथा तत्काल उपलब्ध गराएको मानवीय सहायताप्रति आभार व्यक्त गरेका हुन्।
भेटका क्रममा उनले विपद्पछिको पुनःस्थापना तथा पुनर्निर्माणका प्रयास, प्रभावित समुदायको पुनर्वास र जलवायु परिवर्तनका कारण जनजीवन, जीविकोपार्जन तथा पर्वतीय पारिस्थितिक प्रणालीमा परिरहेको असमानुपातिक प्रभावबारे जानकारी गराएका थिए।
दुवै मन्त्रीले कोप–३१ प्रक्रियासहित आपसी चासोका विभिन्न विषयमा विचार आदानप्रदान गरेका थिए। साथै, नेपाल र फिनल्यान्डबीचको मैत्रीपूर्ण सम्बन्ध तथा सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
भेटमा व्यापार, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल, पूर्वाधार विकास, वन संरक्षण, प्रविधि तथा जलवायु कार्यका क्षेत्रमा द्विपक्षीय सहयोग विस्तार गर्ने विषयमा समेत छलफल भएको थियो।