चारआली खानेपानीको मासिक महसुल घट्यो, मङ्सिरदेखि नयाँ दर लागू हुने
झापाको चारआली साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले खानेपानीको मासिक महसुल घटाएको छ । निम्न आय भएका उपभोक्तालाई राहत दिने उद्देश्यले समितिले महसुल घटाउने निर्णय गरेको हो ।
मेचीनगर नगरपालिका–११, १२ र १३ मा खानेपानी सेवा दिँदै आएको समितिले १० हजार लिटरसम्म पानी उपभोग गर्ने उपभोक्ताको मासिक महसुल २०० रुपैयाँबाट घटाएर १७५ रुपैयाँ कायम गरेको छ ।
त्यस्तै, १० हजारदेखि २० हजार लिटरसम्म पानी खपत गर्नेले प्रतिहजार लिटर ३० रुपैयाँ, २० हजारदेखि ३० हजार लिटरसम्म खपत गर्नेले ४० रुपैयाँ र ३१ हजार लिटरभन्दा बढी खपत गर्नेले प्रतिहजार लिटर ६० रुपैयाँ तिर्नुपर्नेछ ।यसअघि उक्त दर क्रमशः ३२, ४२ र ६५ रुपैयाँ रहेको थियो ।
समितिका अध्यक्ष राजन चिमौरियाका अनुसार साधारणसभाबाट पारित महसुल घटाउने निर्णय आगामी मङ्सिर महिनादेखि लागू हुनेछ । समितिमा हाल दुई हजार ७०० उपभोक्ता सदस्य आबद्ध छन् ।