सुनसरीमा मोटरसाइकल, स्कुटर र साइकल ठोक्किँदा सात वर्षीया बालिकाको मृत्यु, पाँच जना घाइते
सुनसरीको इनरुवामा मोटरसाइकल, स्कुटर र साइकल एकआपसमा ठोक्किँदा सात वर्षीया बालिकाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।
इनरुवा नगरपालिका–५ बलाहामा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १५ प २२५७ नम्बरको मोटरसाइकल, विपरीत दिशाबाट आउँदै गरेको प्र १–०२–०५५ प १२९८ नम्बरको स्कुटर र साइकल आपसमा ठोक्किएर दुर्घटना भएको हो।
दुर्घटनामा तीनवटै सवारीसाधनमा सवार ६ जना घाइते भएका थिए। घाइतेमध्ये स्कुटरको पछाडि सवार इनरुवा नगरपालिका–९ की सात वर्षीया रिदिमा सरदारको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
दुर्घटनामा स्कुटर चालक सुजन चौधरी, मोटरसाइकल चालक सागर सरदार, पछाडि सवार अभिनष सरदार र ११ वर्षीय आयुष सरदार तथा साइकलयात्री इन्द्रजित मण्डल घाइते भएका छन्।
घाइते पाँचै जनाको विराटनगरस्थित विराट नर्सिङ अस्पतालमा उपचार भइरहेको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।