साढे तीन महिनामा नवलपरासी पूर्वमा २०४ नयाँ उद्योग तथा वाणिज्य फर्म दर्ता
नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा चालु आर्थिक वर्ष २०८३/८४ को साढे तीन महिनाको अवधिमा २०४ वटा नयाँ उद्योग तथा वाणिज्य फर्म दर्ता भएका छन् ।
एकीकृत सेवा कार्यालय कावासोतीका अनुसार कात्तिक १३ गतेसम्म ९२ वटा उद्योग र ११२ वटा वाणिज्य फर्म दर्ता भएका हुन् ।
यस अवधिमा ४९७ वटा उद्योग र ६५० वटा वाणिज्य फर्म नवीकरण भएका छन् । त्यस्तै, ६२ वटा उद्योग र १११ वटा वाणिज्य फर्मको लगत कट्टा गरिएको छ ।
कार्यालयको तथ्याङ्कअनुसार जिल्लामा हाल ६ हजार ७९९ वटा उद्योग र आठ हजार ६१३ वटा वाणिज्य फर्म सञ्चालनमा रहेका छन् ।
दर्ता भएका उद्योगमध्ये कृषि तथा वन पैदावारमा आधारित उद्योगको संख्या सबैभन्दा बढी दुई हजार ९४० रहेको छ । त्यस्तै, सेवामूलक दुई हजार ६०० र उत्पादनमूलक एक हजार २९ उद्योग रहेका छन् ।