गरिमा चौधरी प्रकरणमा दोषीलाई अधिकतम कारबाही गर्ने गृहमन्त्री गुरुङको प्रतिबद्धता
काठमाडौं — गृहमन्त्री सुधन गुरुङले तीन वर्षीया गरिमा चौधरीमाथि भएको जघन्य अपराधमा संलग्न दोषीलाई कानुनबमोजिम अधिकतम कारबाही गरिने प्रतिबद्धता व्यक्त गरेका छन्।
गृहमन्त्री गुरुङले शनिबार सामाजिक सञ्जालमार्फत घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै पीडितले अधिकतम न्याय पाउने गरी सरकारले आवश्यक प्रक्रिया अघि बढाइरहेको बताएका हुन्। उनले जघन्य अपराध नियन्त्रणका लागि बलियो कानुनी तथा संस्थागत व्यवस्था निर्माण गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गरेका छन्।
गुरुङका अनुसार घटनामा संलग्न आरोपितहरूलाई तत्काल पक्राउ गरी अनुसन्धान अघि बढाइएको छ। अनुसन्धानलाई निष्पक्ष, प्रभावकारी र तथ्यमा आधारित रूपमा अघि बढाउँदै दोषीलाई कानुनी दायरामा ल्याउने सरकारको स्पष्ट प्रतिबद्धता रहेको उनले बताएका छन्।
घटनाको प्रारम्भिक चरणमा प्रहरीबाट लापरबाही भएको भन्ने प्रश्नसमेत उठेकाले सम्बन्धित प्रहरी अधिकारीमाथि छानबिन तथा आवश्यक कारबाहीको प्रक्रिया अघि बढाइएको गृहमन्त्रीले जानकारी दिएका छन्।
उनले सरकारको उद्देश्य एउटा घटनामा संलग्न व्यक्तिलाई मात्र सजाय दिलाउनु नभई यस्ता जघन्य अपराध दोहोरिन नदिने गरी सुरक्षा र न्याय प्रणालीलाई थप प्रभावकारी बनाउनु रहेको बताएका छन्।
“हाम्रो लक्ष्य एउटा घटनामा दोषीलाई सजाय दिलाउनुमा मात्र सीमित छैन। हाम्रा छोरीहरू डराएर होइन, सुरक्षित भएर बाँच्न सक्ने समाज निर्माण गर्नु हो,” गुरुङले भनेका छन्।
विगतका घटनाबाट पाठ सिक्दै अपराध नियन्त्रणका लागि कानुनी तथा संस्थागत सुधारलाई प्राथमिकता दिने सरकारको तयारी रहेको उनको भनाइ छ। उनले पीडित तथा परिवारलाई न्याय दिलाउने प्रक्रियामा राज्यका सबै संयन्त्र जिम्मेवार र संवेदनशील भएर अघि बढ्नुपर्नेमा जोड दिएका छन्।
गरिमा चौधरीमाथि भएको घटनाले बालबालिकाको सुरक्षा, प्रहरी संयन्त्रको प्रभावकारिता तथा जघन्य अपराधमा राज्यको जवाफदेहिताबारे पुनः गम्भीर प्रश्न उठाएको छ। गृहमन्त्रीको प्रतिबद्धतासँगै अनुसन्धान र छानबिन प्रक्रिया निष्पक्ष रूपमा अघि बढ्ने तथा दोषीमाथि कानुनअनुसार कडा कारबाही हुने अपेक्षा गरिएको छ।