उपत्यकामा एकै दिन ६४३ सवारीचालक कारबाहीमा
काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६४३ जना सवारीचालक कारबाहीमा परेका छन्।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी चलाउने ६८, तीव्रगतिमा सवारी चलाउने १०३, सिसीटिभी निगरानीबाट पहिचान भएका ४० र ट्राफिक बत्ती उल्लङ्घन गर्ने ३४ जना छन्।
त्यस्तै, निषेधित क्षेत्रमा हर्न बजाउने नौ, सवारीसाधनको अवस्था ठीक नभएका आठ, एकतर्फी सडकमा नियमविपरीत सवारी चलाउने आठ तथा अन्य नियम उल्लङ्घन गर्ने ३७३ जना कारबाहीमा परेका छन्।
कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार सडक दुर्घटना न्यूनीकरण तथा सवारी आवागमन व्यवस्थित गर्ने उद्देश्यले नियमित र विशेष जाँच सञ्चालन गरिएको हो।
ट्राफिक प्रहरीले मादक पदार्थ सेवन गरी सवारी नचलाउन, तोकिएको गति कायम राख्न र ट्राफिक सङ्केतको पालना गर्न चालकलाई आग्रह गरेको छ।