सिरहामा प्रहरीको हवाई फायरपछि ३१२ ग्राम हेरोइनसहित दुई भारतीय पक्राउ
सिरहामा प्रहरीले हवाई फायर गरेर लागुऔषध कारोबारमा संलग्न रहेको आरोपमा दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ। सिरहा नगरपालिका–१३ स्थित मल्हनियाबाट उनीहरूलाई पक्राउ गरिएको हो।
लागुऔषध नियन्त्रण ब्युरोका एसएसपी सुवास बोहराका अनुसार पक्राउ पर्नेमा भारतका ४४ वर्षीय लाल बाबु सिंह र २६ वर्षीय धमेन्द्र दास रहेका छन्। उनीहरूको साथबाट ३१२ ग्राम खैरो हेरोइन बरामद गरिएको उनले जानकारी दिए।
लागुऔषध नियन्त्रण ब्युरो, कोटेश्वरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो। प्रहरीका अनुसार उनीहरू भारतबाट मोटरसाइकलमा खैरो हेरोइन लिएर नेपालतर्फ आउँदै गरेको अवस्थामा पक्राउ परेका हुन्।
प्रहरीले हवाई फायर गरेर उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।