पोखरामा गगन थापा र भेषबहादुर पौडेलबीच भेटवार्ता, लमजुङ कांग्रेसको सङ्गठनबारे छलफल
नेपाली कांग्रेसका केन्द्रीय सभापति गगनकुमार थापा र नेपाली कांग्रेस लमजुङका निवर्तमान सभापति एवं महाधिवेशन प्रतिनिधि माननीय भेषबहादुर पौडेलबीच पोखरामा विशेष राजनीतिक भेटवार्ता तथा समसामयिक विषयमा गहन छलफल भएको छ।
बी.पी. स्मृति पुस्तकालय गण्डकी प्रदेशको आयोजनामा पोखरामा सम्पन्न प्रजातान्त्रिक आन्दोलनका अग्रज योद्धाहरूको सम्मान समारोहका क्रममा दुई नेताहरूबीच यो महत्त्वपूर्ण भेटघाट भएको हो।
लमजुङका युवा नेता दिपेन्द्र रावलका अनुसार, भेटवार्ताका क्रममा केन्द्रीय सभापति थापाले लमजुङमा पार्टी सङ्गठनको वर्तमान अवस्था, तल्लो तहसम्मको साङ्गठनिक सुदृढीकरण र कार्यकर्ताको मनोबलका विषयमा विशेष चासो व्यक्त गर्दै जिज्ञासा राख्नुभएको थियो। लमजुङ कांग्रेसको साङ्गठनिक स्थितिलाई थप बलियो र एकताबद्ध कसरी बनाउन सकिन्छ भन्ने विषयमा सभापति थापाले नेता पौडेलसँग गहन परामर्श गर्नुभएको युवा नेता रावलले जानकारी दिनुभयो।
नेता रावलका अनुसार, जवाफमा नेता भेषबहादुर पौडेलले लमजुङमा पार्टीको स्थिति, भइरहेका साङ्गठनिक गतिविधिहरू, जनसरोकारका मुद्दा र स्थानीय कार्यकर्ताको वस्तुस्थितिबारे सभापति थापालाई विस्तृत रूपमा अवगत गराउनुभएको थियो।
भेटघाटकै क्रममा दुवै नेताहरूबीच राजनीतिक तथा सामाजिक समसामयिक विषयमा समेत सकारात्मक छलफल भएको थियो। छलफलपश्चात् दुवै नेताहरूले तस्बिरसमेत खिचाउनुभएको थियो। बी.पी. स्मृति पुस्तकालयको ऐतिहासिक मञ्चमा भएको यो विशेष भेटघाट र छलफलले लमजुङ कांग्रेसको आन्तरिक एकता, सङ्गठन सुदृढीकरण तथा केन्द्र र जिल्ला नेतृत्वबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।
उक्त कार्यक्रममा गण्डकी प्रदेशका ११ वटै जिल्लाका अग्रज प्रजातान्त्रिक सेनानीहरूलाई सम्मान गरिएको थियो, जसमा लमजुङका अग्रज अभिभावक नवीन बानियाँसमेत सम्मानित हुनुभएको थियो।