कांग्रेसको नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि औपचारिक रूपमा पार्टी सञ्चालनको जिम्मेवारी सम्हाल्ने भएको छ।
ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आज दिउँसो २ बजे नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथ ग्रहण कार्यक्रम आयोजना गरिएको छ।
केन्द्रीय निर्वाचन समितिका अनुसार सभापतिबाहेक अन्य सबै पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिनेछन्। सभापति गगनकुमार थापाले भने यसअघि नै शपथ ग्रहण गरिसकेका छन्।
निर्वाचन समितिका सदस्य सचिव अधिवक्ता राजु कटुवालका अनुसार शपथ ग्रहणसँगै नवनिर्वाचित नेताहरूलाई प्रमाणपत्र वितरण गरी पदबहालीसमेत गराइनेछ।
शपथ ग्रहण तथा पदबहालीपछि आजै पार्टीको पहिलो केन्द्रीय कार्यसमिति बैठक बस्ने तयारी छ। बैठकमा महाधिवेशन सफल बनाउन सहयोग गर्ने प्रतिनिधि, निर्वाचन समिति, सुरक्षाकर्मी, सञ्चारकर्मी तथा पार्टीका नेता–कार्यकर्तालाई धन्यवाद दिने विषयमा छलफल हुने जनाइएको छ।
त्यसैगरी, बैठकमा बाँकी केन्द्रीय सदस्य मनोनयन तथा जिल्ला र प्रदेश अधिवेशनका विषयमा पनि छलफल हुने बताइएको छ।