नेपालबाट भारततर्फ तस्करी हुँदै गरेका १० वटा गाईगोरु बरामद
नेपालबाट भारततर्फ तस्करी गरी लैजाँदै गरिएका १० वटा गाईगोरु भारतीय सीमा सुरक्षा बल (एसएसबी) र स्थानीय प्रहरीले संयुक्त रूपमा बरामद गरेका छन्।
भारतको बिहारस्थित मोतिहारीमा तैनाथ एसएसबीको ७१औँ बटालियनअन्तर्गत ई–कम्पनी बेलदरवामठ र आदापुर प्रहरीले बिहीबार बिहान करिब २ः१५ बजे संयुक्त गस्तीका क्रममा ती चौपाया बरामद गरेका हुन्।
एसएसबीका अनुसार प्राप्त सूचनाका आधारमा खटिएको संयुक्त गस्ती टोलीले भारतको इनर्वा (लरहाटोला) गाउँनजिक नेपाल–भारत सीमा स्तम्भ नम्बर ३८४–१८ बाट भारतीय भूमितर्फ करिब ५० मिटरको दूरीमा गाईगोरु फेला पारेको थियो।
बरामद गरिएका चौपायामा तीन वटा गाई, चार वटा बाच्छा र तीन वटा बाच्छी रहेका छन्। प्रारम्भिक विवरणअनुसार ती चौपाया नेपालको नीलकण्ठ क्षेत्रबाट भारतको सिरसिया कलातर्फ तस्करी गरी लैजाँदै गरिएको थियो।
रातको अँध्यारोको फाइदा उठाउँदै तस्करीमा संलग्न व्यक्तिहरू भने नेपालतर्फ भाग्न सफल भएको एसएसबीले जनाएको छ। बरामद गरिएका १० वटै चौपायालाई आवश्यक कानुनी कारबाहीका लागि आदापुर प्रहरी थानामा बुझाइएको छ।
एसएसबीको ७१औँ बटालियन मुख्यालय पिपराकोठीका अनुसार सीमावर्ती क्षेत्रमा चौपाया तस्करी नियन्त्रण गर्न सूचनाका आधारमा निगरानी तथा संयुक्त गस्तीलाई निरन्तरता दिइँदै आएको छ।