बाढीपहिरोले क्षतिग्रस्त बेनीको खानेपानी पाइपलाइन मर्मत तीव्र
गत असोजको वर्षापछि आएको बाढीपहिरोका कारण क्षतिग्रस्त म्याग्दीको सदरमुकाम बेनी बजारको खानेपानी आपूर्ति सहज बनाउन पाइपलाइन मर्मत तथा वैकल्पिक पाइपलाइन निर्माणको काम तीव्र पारिएको छ।
बेनी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले अन्नपूर्ण गाउँपालिका–८ स्थित रिठाखर्क र डाँडाखर्कका मुहानबाट अस्थायी पाइपलाइनमार्फत बेनी बजारमा खानेपानी आपूर्ति गराउने तयारी गरेको हो। संस्थाले तिहारअघि नै ती मुहानबाट पानी ल्याउने लक्ष्यसहित काम अघि बढाएको छ।
संस्थाका अध्यक्ष रमेश गिरीका अनुसार राहुपारे–गलेश्वर र डल्लेपिपल–बेनी खण्डमा अस्थायी तथा वैकल्पिक पाइपलाइन निर्माण भइरहेको छ। बेनीस्थित खोरिया र खरेनीको पाखोमा पहिरो जान थालेपछि पुरानो पाइपलाइनको मार्ग परिवर्तन गरी डल्लेपिपल–कालीपुल–बेनी चक्रपथ–दरवाङ बसपार्क क्षेत्र हुँदै करिब तीन किलोमिटर नयाँ पाइपलाइन विस्तार गर्नुपरेको उनले बताए।
हाल कोप्रेको मुहानबाट प्रतिसेकेन्ड तीन लिटर, वैकल्पिक अम्रेनी मुहानबाट ३.४ लिटर र राहुपारेबाट चार लिटरका दरले पानी ल्याएर आलोपालो प्रणालीमा वितरण भइरहेको छ। तर, सुक्खायाम सुरु भएसँगै वैकल्पिक मुहान सुक्न थालेपछि खानेपानी आपूर्तिमा थप समस्या देखिएको संस्थाले जनाएको छ।
बेनी बजारमा दैनिक आवश्यकताअनुसार प्रतिसेकेन्ड २० लिटरभन्दा बढी पानी चाहिने भए पनि हाल आठ लिटरका दरले मात्रै आपूर्ति भइरहेको छ। संस्थामार्फत बेनी नगरपालिकाका वडा नम्बर २, ७ र ८ का एक हजार २०० घरधुरीमा बसोबास गर्ने करिब २५ हजार जनसङ्ख्यालाई खानेपानी वितरण हुँदै आएको छ।
डाँडाखर्क र रिठाखर्कका मुहानबाट प्रतिसेकेन्ड २२ देखि २५ लिटरसम्म पानी आपूर्ति हुने पाइपलाइन एक महिनादेखि बन्द छ। मागअनुसार पानी उपलब्ध हुन नसक्दा बेनी बजारका बासिन्दा प्रभावित भएका छन्। रेडक्रस मार्गका केही बासिन्दाले निजी मुहानबाट पानी ल्याएर उपभोग गर्न थालेका छन्।
खानेपानी अभावले बजारवासीसँगै विद्यार्थी, पेसाकर्मी र व्यवसायीसमेत प्रभावित भएका छन्। यसअघि बेनी नगरपालिका, म्याग्दी उद्योग वाणिज्य सङ्घ, बौद्ध युवा क्लब लगायतका सङ्घसंस्थाले ट्याङ्कर तथा ड्रममा पानी बोकेर बजारमा वितरण गरेका थिए।
संस्थाका सचिव केशवप्रसाद रेग्मीका अनुसार तत्कालका लागि बेनी–जोमसोम सडकको किनारैकिनार अस्थायी पाइपलाइन विस्तार गरेर राहुपारेबाट बेनीमा पानी ल्याउने तयारी गरिएको छ। अन्य विकल्प तत्काल उपलब्ध नभएकाले यही उपायबाट आपूर्ति सहज बनाउने प्रयास भइरहेको उनले बताए।
खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि संस्थाले तत्कालीन योजनामा १४ करोड ७० लाख रुपैयाँ र दीर्घकालीन योजनामा ७० करोड रुपैयाँ आवश्यक पर्ने लागत अनुमानसहित खानेपानी तथा ढल व्यवस्थापन विभागमा प्रस्ताव पेस गरेको छ।
अस्थायी पाइपलाइन निर्माण सम्पन्न गरी रिठाखर्क र डाँडाखर्कका मुहानबाट पानी ल्याउन सके बेनी बजारमा देखिएको खानेपानी अभाव केही हदसम्म कम हुने अपेक्षा गरिएको छ।