विपक्षी नेता एलेक्सी नाभाल्नीको समर्थनमा गरिएका प्रदर्शनमा उनकी पत्नी युलियासहित कम्तीमा ४ हजार जना पक्राउ परेका छन् ।
(मस्को) रुसको जेलमा रहेका विपक्षी नेता एलेक्सी नाभाल्नीका समर्थकहरूले देशव्यापी रूपमा प्रदर्शन चर्काएका छन् । स्थानीय सञ्चार माध्यमका अनुसार आइतबारका प्रदर्शनमा हजारौं व्यक्तिहरू सहभागी भएका छन् ।
विरोधमा सहभागी नाभाल्नी पत्नी युलियासहित कम्तीमा ४ हजार जना प्रदर्शनकारीलाई गिरफ्तार गरिएको अनुगमन संस्थाहरूले जनाएका छन् । ‘विरोधका क्रममा युलिया नाभाल्न्या पक्राउ परेकी छन्,’ नाभाल्नीको टिमले ट्वीटमार्फत जनाएको हो ।
बीबीसीका अनुसार राजधानी मस्कोमा प्रहरीले मेट्रो रेलका स्टेसनहरू बन्द गर्नुका साथै सहरको केन्द्रमा सर्वसाधारणलाई हिँडडुल गर्न रोक लगाएको छ । मस्कोमा कम्तीमा १ सय ४० जनालाई नियन्त्रणमा लिइएको छ ।
मानिसहरूलाई घरभित्रै बस्न चेतावनी दिइएको छ । विरोधका लागि मस्कोको केन्द्रमा सयौं प्रदर्शनकारी भेला भएपछि दंगा प्रहरीले केही मानिसहरूलाई सार्वजनिक बसमा पुर्याएको सामाजिक सञ्जालमा सार्वजनिक दृश्यमा देखिन्छ ।
त्यसैगरी रुसका पूर्वी क्षेत्रमा भेला नहुन दिइएको चेतावनीका बाबजुद पनि प्रदर्शनहरू भएका छन् । साइबेरियाली सहर नोभोसिर्बिस्कमा ‘स्वतन्त्रता देऊ’ र ‘पुटिन चोर हो’ भन्दै करिब २ हजार मानिसले र्याली आयोजना गरेका छन् । माइनस ४० डिग्री सेन्टिग्रेड तापक्रम रहेको याकुत्स्क सहरमा पनि सयौंले प्रदर्शन गरेका बीबीसीले उल्लेख गरेको छ । त्यसैगरी सेन्ट पिटर्सबर्ग, ओम्स्क र यकातेरिनबर्गमा पनि नाभाल्नीको समर्थनमा विरोधहरू गरिएका छन् ।
जर्मनीबाट दुई साताअघि रुस फर्केका नाभाल्नीलाई विमानस्थलबाटै पक्राउ गरिएको थियो । गत सेप्टेम्बरमा सम्भावित विष आक्रमणपछि उनलाई उपचारका लागि जर्मनी पुर्याएको थियो । तर देश फर्कने क्रममा उनलाई विमानस्थलको पासपोर्ट नियन्त्रण कक्षबाट प्रहरीले हिरासतमा लिएका थिए ।
नाभाल्नीको पक्राउपछि उनका समर्थकहरूले सामाजिक सञ्जालमार्फत विरोध प्रदर्शनी आयोजना गरेका हुन् । देशभरका १ सय २० सहरमा विरोधको तयारी भइरहेको उनीहरूको भनाइ छ । नाभाल्नीले पिएको चियामा षड्यन्त्रपूर्वक विष घोलिएको र त्यसका लागि रुसी राष्ट्रपति भ्लादिमिर पुटिन जिम्मेवार रहेको उनका समर्थहरूको दाबी छ । तर क्रेमलिनले आफ्नो संलग्नता अस्वीकार गरिसकेको छ ।
नाभाल्नीले ‘ब्ल्याक सी’ को किनारमा अवस्थित भव्य दरबार राष्ट्रपति पुटिनको भएको भन्दै एक भिडियो सार्वजनिक गरेका थिए । रुसमा भाइरल बनेको उक्त भिडियो १० करोडभन्दा बढी पटक हेरिएको छ । पुटिनले उक्त दरबार आफ्नो भएको भन्ने दाबी गलत भएको जनाएका छन् ।
नाभाल्नी सन् २०१८ को राष्ट्रपतीय चुनावमा उम्मेदवार बन्ने दौडमा थिए । तर उनलाई आर्थिक हिनामिनाको आरोप लगाउँदै उम्मेदवार बन्नबाट वञ्चित गरिएको थियो । निडर स्वभावका ब्लगरको समेत छवि बनाएका नाभाल्नीलाई सामाजिक सञ्जालमा लाखौं रुसीले पछ्याउँछन् । सन् २०२० मा उनका केही समर्थकहरू साइबेरियाको स्थानीय निर्वाचनमा निर्वाचितसमेत भएका थिए ।