रोस्ट्रम घेराउ अमर्यादित, रचनात्मक प्रतिपक्षी बन्नुपर्नेमा जोड — सुहाङ नेम्वाङ
काठमाडौं — नेकपा (एमाले) का सांसद सुहाङ नेम्वाङ ले संसदमा हुने रोस्ट्रम घेराउ र नाराबाजीप्रति असन्तुष्टि जनाउँदै त्यसलाई अमर्यादित अभ्यासको संज्ञा दिएका छन्।
उनले भने, “म विरोधका लागि आफ्नो स्थानमा उभिन तयार छु, तर घेराउ र नाराबाजीका लागि रोस्ट्रममा जाँदिनँ। रोस्ट्रम घेर्नु अमर्यादित कुरा हो।”
सांसद नेम्वाङले वर्तमान समयमा बजेट र जनतासँग सम्बन्धित महत्वपूर्ण मुद्दामा केन्द्रित हुनुपर्ने बताउँदै संसदको समय रोस्ट्रम घेराउमा खर्च गर्नु उपयुक्त नहुने धारणा राखे। “अहिले बजेटदेखि जनताका मुद्दामा केन्द्रित हुनुपर्ने बेला रोस्ट्रम घेराउमा समय नफालौं, बरु रचनात्मक प्रतिपक्षी बनौं,” उनले भने।
उनले विगतका घटनाप्रति पनि संकेत गर्दै कुनै पनि दलले रोस्ट्रम घेराउ गर्नु उचित नहुने बताए। “विगतमा रास्वपाले रोस्ट्रम घेर्नु पनि ठिक थिएन, अहिले एमालेले गर्दा पनि ठिक होइन,” उनले स्पष्ट पारे।
संसदलाई सुशासनको केन्द्रका रूपमा व्याख्या गर्दै उनले यसको गरिमा जोगाउन सबै दल जिम्मेवार हुनुपर्नेमा जोड दिए। “संसद सुशासनको मन्दिर हो र मन्दिर जस्तो पवित्र स्थलमा नाराबाजी गर्नु सुहाउँदो हुँदैन। जनताले रोस्ट्रम घेराउ गर भनेर निर्वाचित गरेको होइन,” उनले भने।
उनको यस अभिव्यक्तिलाई संसदमा देखिएको अवरोध र राजनीतिक दलहरूबीचको टकरावबीच आएको महत्वपूर्ण टिप्पणीका रूपमा हेरिएको छ।