खोटेहाङ गाउँपालिकाद्वारा कृषकदेखि विद्यार्थीसम्मलाई नगदसहित सम्मान
खोटाङ — खोटेहाङ गाउँपालिका ले विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान गर्ने कृषक, विद्यार्थी, शिक्षक, कर्मचारी तथा संस्थाहरूलाई नगदसहित सम्मान गरेको छ।
गाउँपालिकाले आइतबार आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा कृषक चार, विद्यार्थी चार, शिक्षक चार, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तीन, सात कर्मचारी तथा एक निर्माण उपभोक्ता समितिलाई पुरस्कृत गरेको हो।
कृषकतर्फ वडा नं. ७ खोटाङबजारका तुलसीराम चौलागाईँ लाई सबैभन्दा बढी अन्नबाली उत्पादन गरेकोमा, वडा नं. ४ बडकादियालेका सुरेश अछामी लाई फलफूल खेतीमा उत्कृष्ट उत्पादन गरेकोमा, वडा नं. ८ सिम्पानीका सुवाश खड्का लाई नगदेबालीतर्फ तथा वडा नं. १ लिकुवापोखरीका दुर्गाबहादुर खड्का लाई पशुपालनतर्फ पुरस्कृत गरिएको छ। उनीहरूलाई जनही १५ हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरिएको गाउँपालिकाले जनाएको छ।
विद्यार्थीतर्फ सिद्ध आधारभूत विद्यालयका सिम्रण गुरुङ (कक्षा–५), भगवती दिनानाथ माध्यमिक विद्यालयकी सम्झना राई (कक्षा–८), सोही विद्यालयका अनिश फुयाँल (एसईई) तथा कक्षा–१२ का नवराज श्रेष्ठ लाई उत्कृष्ट अंक ल्याएकोमा जनही सात हजार रुपैयाँसहित सम्मान गरिएको छ।
शिक्षकतर्फ सिम्पानी माध्यमिक विद्यालयका कृष्णप्रसाद घिमिरे, देवीस्थान आधारभूत विद्यालयका किरण राई, महाकन्या आधारभूत विद्यालयका पेशलकुमार राई तथा भगवती दिननाथ माध्यमिक विद्यालयकी पूजन अधिकारी लाई जनही सात हजार रुपैयाँसहित पुरस्कृत गरिएको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरू दिपेन थुलुङ, इन्द्रहाङ राई र श्रीकुमार राई लाई पनि जनही सात हजार रुपैयाँसहित सम्मान गरिएको छ।
त्यसैगरी सप्तकन्या माध्यमिक विद्यालय चिप्रिङ, सरस्वती आधारभूत विद्यालय लिकुवापोखरी, चौतारेडाँडा आधारभूत विद्यालय इन्द्रेणीपोखरी र बालबाटिका आधारभूत विद्यालय सावाकटहरेलाई जनही १० हजार रुपैयाँसहित पुरस्कृत गरिएको छ।
कर्मचारीतर्फ इन्जिनियर सञ्जय चौधरी, वडासचिव मनिषा गिरी र जनस्वास्थ्य निरीक्षक नवराज राई सहित अन्य कर्मचारीहरूलाई पनि जनही सात हजार रुपैयाँसहित सम्मान गरिएको सूचना अधिकारी रोशन पौडेल ले जानकारी दिए।
यसका साथै लेखा कर्मचारी जगतबहादुर कार्की र मेर्ला गोरेटो बाटो निर्माण उपभोक्ता समितिलाई समेत नगदसहित सम्मान गरिएको गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाले स्थानीय तहमा उत्कृष्ट कार्य गर्ने व्यक्तित्व र संस्थालाई प्रोत्साहन गर्न यस्तो कार्यक्रम आयोजना गरेको बताएको छ।