राष्ट्रिय स्वतन्त्र पार्टीको प्युठान जिल्ला सभापतिमा विकास पोख्रेल निर्वाचित
प्युठान — राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम जिल्ला अधिवेशनबाट विकास पोख्रेल प्युठान जिल्ला सभापतिमा निर्वाचित भएका छन्।
प्युठान जिल्लामा सम्पन्न अधिवेशनअन्तर्गत भएको निर्वाचनमा कुल ३२४ मतदातामध्ये २०४ जनाले मतदान गरेका थिए। खसेको मतमध्ये २०३ मत सदर र १ मत बदर भएको निर्वाचन समितिले जनाएको छ।
निर्वाचन परिणामअनुसार पोख्रेलले १५३ मत प्राप्त गर्दै विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी वमबहादुर सुनारले ४४ मत प्राप्त गरे।
त्यस्तै उपसभापतिमा केशवबहादुर महतरा, सचिवमा यज्ञविर पाण्डे तथा सहसचिवमा ओमहरि भट्टराई निर्वाचित भएका छन्।
पोख्रेल पार्टी स्थापनाकालदेखि नै संगठन निर्माणमा सक्रिय रहँदै आएका थिए। निर्वाचनपछि जिल्लामा पार्टी संगठन थप सुदृढ हुने अपेक्षा गरिएको छ।