स्थानीय तहको अधिकार कार्यान्वयनको माग गर्दै जनमत पार्टीको प्रदर्शन
काठमाडौं, जेठ २५ — Janamat Party ले स्थानीय तहको अधिकार तथा स्वायत्तता पूर्ण रूपमा कार्यान्वयन गर्न माग गर्दै काठमाडौंको Maitighar Mandala मा विरोध प्रदर्शन गरेको छ।
प्रदर्शनमा सहभागी नेता–कार्यकर्ता तथा समर्थकहरूले संघीय लोकतान्त्रिक गणतन्त्रको मर्मअनुसार स्थानीय तहलाई संविधानले प्रदान गरेका अधिकारहरू पूर्ण रूपमा कार्यान्वयन गर्न, आवश्यक स्रोत–साधन उपलब्ध गराउन तथा निर्णय गर्ने अधिकार सुनिश्चित गर्न सरकारसँग माग गरेका हुन्।
उनीहरूले विभिन्न राजनीतिक दलहरूले निर्वाचनका बेला गरेका प्रतिबद्धता पूरा नगरेको आरोप लगाउँदै स्थानीय स्वायत्तता, जनउत्तरदायी शासन प्रणाली तथा संघीयताको प्रभावकारी कार्यान्वयनका लागि सरकार गम्भीर बन्नुपर्ने बताएका थिए।
माइतीघर मण्डलामा आयोजित प्रदर्शनका क्रममा सहभागीहरूले शान्तिपूर्ण रूपमा नाराबाजी गर्दै स्थानीय तहको अधिकार कटौती नगर्न तथा स्थानीय सरकारलाई अधिकारसम्पन्न बनाउन माग गरेका थिए। प्रदर्शनमा ‘कांग्रेस–कम्युनिष्टले ठगे’, ‘बालेन, नठग’, ‘स्वायत्तता दिने आफ्नो वाचा पूरा गर’ र ‘स्थानीय सरकारलाई अधिकार दे’ लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरिएको थियो।
जनमत पार्टीले संघीय संरचनालाई थप प्रभावकारी बनाउँदै स्थानीय सरकारलाई अधिकार सम्पन्न बनाउने आफ्नो मागप्रति सम्बन्धित निकायले बेवास्ता गरे थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने चेतावनीसमेत दिएको छ।