सिंहदरबारमा सर्वदलीय बैठक सुरु, संसदीय गतिरोध अन्त्य गर्ने प्रयास
काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहलमा संघीय संसदमा देखिएको गतिरोध अन्त्य गर्ने उद्देश्यले सिंहदरबारमा सर्वदलीय बैठक सुरु भएको छ।
रास्वपाका सभापति रवि लामिछाने ले आह्वान गरेको उक्त बैठकमा संसदका प्रमुख दलका प्रतिनिधिहरू सहभागी भएका छन्। बैठकमा नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, नेकपा (एमाले) का प्रमुख सचेतक ऐनबहादुर महर, नेकपाका सहसंयोजकहरू माधवकुमार नेपाल र वर्षमान पुन तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी छन्।
यद्यपि, श्रम संस्कृति पार्टीले बैठक बहिष्कार गरेको छ।
बैठकका लागि संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरूलाई निमन्त्रणा गरिएको भए पनि नेपाली कांग्रेस, एमाले, नेकपा र श्रम संस्कृति पार्टीका शीर्ष नेतृत्व भने अनुपस्थित छन्। उनीहरूको सट्टा अन्य नेताहरूले प्रतिनिधित्व गरेका छन्।
रास्वपाको तर्फबाट सभापति लामिछानेसहित महामन्त्री कबिन्द्र बुर्लाकोटी, सहमहामन्त्री विपिन आचार्य, सचिवालय सदस्य दीपक बोहरा तथा कानुन मन्त्री सोबिता गौतम बैठकमा सहभागी छन्।
संसदका दुवै सदनमा जारी अवरोध अन्त्य गरी राजनीतिक सहमति जुटाउने उद्देश्यले आयोजित यस बैठकलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ।