गोरखामा ट्याक्सी ४० मिटर तल खस्दा पाँच जना घाइते, दुईको अवस्था गम्भीर
गोरखाको सिरानचोक गाउँपालिका–२ सिउरेनीमा ट्याक्सी दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ।
बुधबार बिहान करिब ११ः३० बजे चित्रेपोखरीबाट सिउरेनीतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००२ ज ७६८८ नम्बरको ट्याक्सी सडक छेउमा रोकिराखेको अवस्थामा अचानक ब्याक भएर करिब ४० मिटर तल खसेको प्रहरीले जनाएको छ।
दुर्घटनामा ट्याक्सी चालकसहित पाँच जना घाइते भएका छन्। घाइतेमध्ये मञ्जु परियार र गीतामाया परियारको अवस्था गम्भीर रहेको छ।
त्यस्तै, चालक वीरबहादुर गुरुङ सामान्य घाइते भएका छन् भने अञ्जना अछामी र गीता परियारको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
घाइते पाँचै जनालाई उपचारका लागि प्रदेश अस्पताल गोरखा पठाइएको छ।
दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।