एनपीएल इलिमिनेटर : टस जितेर चितवनले पहिला ब्याटिङ गर्ने
नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत आज भइरहेको इलिमिनेटर खेलमा चितवन राइनोजले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ ।
चितवनका कप्तान रवि बोपाराले टस जित्दै काठमाण्डु गोर्खाजका कप्तान करण केसीलाई बलिङको निम्तो दिएका हुन् ।
आजको खेल दुवै टोलीका लागि गर या मरको अवस्थामा छ । पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिनेछ भने विजयी टोलीले फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्नेछ ।
लिग चरणमा तेस्रो स्थान हासिल गरेको काठमाण्डुले ७ खेलबाट ४ जित र ३ हारसहित ८ अंक जोडेको थियो । सुरुवाती तीन खेलमा लगातार जित निकाल्दै उत्कृष्ट लय देखाएको काठमाण्डुले पछिल्ला दुई खेलमा भने हार बेहोरेको थियो ।
त्यस्तै, चितवनले ७ खेलबाट ३ जित, ३ हार र एक खेलमा नतिजा नआउँदा ७ अंक जोड्दै चौथो स्थानमा रहेर प्लेअफमा स्थान बनाएको हो ।
यसअघि भएको पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै लुम्बिनी लायन्स फाइनलमा पुगिसकेको छ । अब इलिमिनेटरको विजेताले दोस्रो क्वालिफायरमा सुदूरपश्चिमसँग खेल्नेछ । उक्त खेलको विजेता शनिबार हुने फाइनलमा लुम्बिनीसँग उपाधिका लागि भिड्नेछ ।
आठ टोली सहभागी प्रतियोगितामा विराटनगर किङ्स र कर्णाली याक्स ६–६ अंकसहित पाँचौँ र छैटौँ स्थानमा रहँदै बाहिरिएका थिए । पोखरा एभेन्जर्स र जनकपुर बोल्ट्स समान ४ अंकसहित लिग चरणबाटै बाहिरिएका थिए ।