आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दामा सरकारलाई कारण देखाऊ आदेश
सर्वोच्च अदालतले नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाइएको विषयमा सरकारसँग कारण देखाऊ आदेश जारी गरेको छ।
न्यायाधीश श्रीकान्त पौडेलको इजलासले बुधबार कार्कीले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको हो।
कार्कीले आफूलाई पुनर्बहाली गर्न माग गर्दै अन्तरिम आदेशसमेत माग गरेका थिए। तर सर्वोच्चले तत्काल अन्तरिम आदेश जारी गर्न अस्वीकार गर्दै त्यसबारे छलफलका लागि दुवै पक्षलाई बोलाउने आदेश दिएको छ।
गत कात्तिक १८ गते बसेको मन्त्रिपरिषद् बैठकले आईजीपी कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा सरुवा गरी मनोज केसीलाई प्रहरी महानिरीक्षक नियुक्त गरेको थियो।
आफ्नो कार्यकाल अझै डेढ वर्ष बाँकी रहँदै पदबाट हटाइएको भन्दै कार्की पुनर्बहालीको मागसहित सर्वोच्च अदालत पुगेका थिए।