५ अर्ब ८८ करोड ठगी प्रकरणका मुख्य योजनाकार शिवकुमार विश्वकर्मा पक्राउ
बराह सहकारीको ५ अर्ब ८८ करोड रुपैयाँभन्दा बढी रकम हिनामिना प्रकरणका मुख्य योजनाकार शिवकुमार विश्वकर्मा (लामिछाने) पक्राउ परेका छन्।
गृहमन्त्री सुधन गुरुङले सामाजिक सञ्जालमार्फत केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले विश्वकर्मालाई पक्राउ गरेको जानकारी दिएका हुन्।
उनले सहकारी ठगीका मुख्य योजनाकारलाई कानुनी कठघरामा उभ्याउन सफल भएको उल्लेख गर्दै अब क्रमबद्ध रूपमा अन्य दोषीको खोजी तथा कारबाही प्रक्रिया अघि बढाइने बताएका छन्।
गृहमन्त्री गुरुङले करिब पाँच वर्षअघि धरानमा ‘सेभ घोपा’ अभियान सञ्चालन गर्ने क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको बेथितिविरुद्ध आवाज उठाउँदा पूर्वका बचतकर्ताको पीडा सुनेको स्मरण गरेका छन्।
उक्त घटनाले आफूलाई निरन्तर झकझकाइरहेको उल्लेख गर्दै उनले गृहमन्त्रीको जिम्मेवारी सम्हालेदेखि नै सहकारी पीडितलाई न्याय दिलाउन खोजी तथा अनुसन्धान तीव्र पारिएको दाबी गरेका छन्।