सरकार स्वेच्छाचारी शासनतर्फ अघि बढेको ओलीको आरोप
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुक भय र त्रासको वातावरणमा स्वेच्छाचारी शासनअन्तर्गत चलिरहेको आरोप लगाएका छन्।
बुधबार काठमाडौँमा सुरु भएको एमालेको राष्ट्रिय भेलाको उद्घाटन गर्दै अध्यक्ष ओलीले वर्तमान सरकारका गतिविधि असंवैधानिक, गैरकानुनी र दमनकारी रहेको टिप्पणी गरे।
उनले सरकारले एमालेमाथि सुरुदेखि नै निर्मम हमला गरिरहेको आरोप लगाउँदै त्यसलाई निरन्तरता दिए महँगो मूल्य चुकाउनुपर्ने चेतावनी दिए। साथै, सरकारको दमनकारी र प्रतिशोधी व्यवहारविरुद्ध प्रतिरोधका लागि तयार रहन नेता तथा कार्यकर्तालाई निर्देशन दिए।
अध्यक्ष ओलीले गत वर्ष भएका हिंसात्मक घटनालाई मान्यता दिन संवैधानिक बाटोका रूपमा निर्वाचनको मञ्चन गरिएको टिप्पणीसमेत गरे।
उनले एमाले संघर्षको मैदानबाट स्थापित पार्टी भएको उल्लेख गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’को सपना पूरा गर्न आफ्नो पार्टी पुनः सरकारमा जाने दाबी गरे।
प्रधानमन्त्री वालेन्द्र शाहले नेपालले पनि भारतको सीमा मिचेको भन्ने अभिव्यक्ति योजनाबद्ध रूपमा दिएको आरोप लगाउँदै ओलीले उक्त अभिव्यक्ति संसद्को अभिलेखबाट नहटाइएको भन्दै प्रश्न उठाए।
दुई दिनसम्म चल्ने राष्ट्रिय भेलामा देशभरबाट ३ हजार ४१४ प्रतिनिधि सहभागी भएका छन्। राष्ट्रिय राजनीतिलाई स्पष्ट दिशा दिन र स्थानीय तहको निर्वाचनको पूर्वतयारी गर्ने उद्देश्यले भेला आयोजना गरिएको एमालेले जनाएको छ।