कर्णाली याक्सले चितवन राइनोजलाई दियो १५४ रनको लक्ष्य
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आइतबारको पहिलो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १५४ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५३ रन बनाएको हो।
कर्णालीका लागि हुसेन तलतले सर्वाधिक ५१ रन बनाए। उनले ३३ बलमा तीन छक्का र दुई चौका प्रहार गर्दै अविजित अर्धशतकीय पारी खेले।
त्यस्तै, आरिफुल इस्लामले आक्रामक ब्याटिङ गर्दै १५ बलमा चार चौका र दुई छक्काको मद्दतमा ३५ रन जोडे। गुल्सन झाले ६ बलमा दुई छक्का र एक चौकासहित १८ रन बनाए।
कर्णालीका कप्तान डेभिड मिलर ५ रनमा आउट हुँदा दीपक डुम्रेले ७, सोमपाल कामीले ४ र मार्क वाटले ६ रन बनाए। सचिन शर्मा भने खाता नखोली पेभेलियन फर्किए।
चितवनका लागि कमलसिंह ऐरी, सलाहुद्दीन खान र उसामा मीरले समान दुई-दुई विकेट लिए। रिजन ढकाल र सिकन्दर राजाले एक-एक विकेट हात पारे।
अब चितवनले जितका लागि १५४ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गर्नेछ। चितवन राइनोज यसअघि नै प्लेअफमा प्रवेश गरिसकेको छ भने कर्णाली याक्स प्रतियोगिताबाट बाहिरिसकेको छ।