कोप–३१ मा जलवायु वित्तका मुद्दा उठाएर अर्थमन्त्री वाग्ले स्वदेश फर्किए
टर्कीमा जारी संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा सहभागी भएर अर्थमन्त्री डा. स्वर्णिम वाग्ले स्वदेश फर्किएका छन् ।
सम्मेलनका क्रममा अर्थमन्त्री वाग्लेले जलवायु वित्तसम्बन्धी करिब एक दर्जन उच्चस्तरीय कार्यक्रममा सहभागिता जनाएका थिए । उनले ४४ वटा अतिकम विकसित राष्ट्रका तर्फबाट जलवायु वित्तसम्बन्धी सातौँ द्विवार्षिक मन्त्रीस्तरीय संवादलाई सम्बोधन गरेका थिए ।
त्यस्तै, सात वर्षअघि स्थापना भएको ‘जलवायु मुद्दाका लागि अर्थमन्त्रीहरूको गठबन्धन’मा नेपाललाई नयाँ सदस्यका रूपमा समावेश गराउँदै ‘उत्थानशीलताका लागि वित्त’ सम्बन्धी नीतिगत अवधारणा छलफलका लागि प्रस्तुत गरेका थिए ।
सम्मेलनका क्रममा उनले बार्बेडसकी प्रधानमन्त्री मिया मोट्ली र बेलायतका विदेशमन्त्री एड मिलीब्यान्डसँग भेटवार्ता गरेका थिए । विपद्पछि ऋणमोचनको विश्वव्यापी अभियान सञ्चालन गर्दै आएकी प्रधानमन्त्री मोट्ली र जी–२० समूहको आगामी अध्यक्षता गर्न लागेको बेलायतका विदेशमन्त्री मिलीब्यान्डसँगको भेटमा विशेष अन्तर्राष्ट्रिय प्याकेजमा सहकार्य गर्ने प्रतिबद्धता प्राप्त भएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ ।
नेपालले कोप–३१ मा उठाएका विषयमा अन्तर्राष्ट्रिय सहयोग जुटाउने उद्देश्यले वाग्लेले पाँच प्रभावशाली जलवायु दूतसँग पनि छलफल गरेका थिए । छलफलमा बेलायतकी रेचेल काइट, अस्ट्रेलियाका विल नानकर्भिस, स्वीडेनका माटियास फ्रुमेरी, जमैकाका डेल वेबर र संयुक्त राष्ट्रसङ्घका महासचिवका दूत सेल्विन हार्ट सहभागी थिए ।
त्यसैगरी, उनले हरित जलवायु कोषको उच्च नेतृत्वसँग भावी कार्यक्रमबारे छलफल गरेका थिए । जेनेभास्थित विश्व मौसम विज्ञान सङ्गठनको जलवायु मापन कोषसम्बन्धी कार्यक्रममा पनि उनले सम्बोधन गरेका थिए ।
जलवायु तथा अर्थशास्त्रका विज्ञ प्राध्यापक योहान रक्स्त्रम र निकलस स्टर्नसँग भेटघाट गरेका अर्थमन्त्री वाग्लेले सम्मेलनका क्रममा न्युयोर्क टाइम्सलाई अन्तर्वार्तासमेत दिएका थिए । सन् २०२६ का लागि टाइम पत्रिकाले छनोट गरेका जलवायु मुद्दाका १०० प्रभावशाली व्यक्तित्वको सम्मानमा आयोजित कार्यक्रममा पनि उनी सहभागी भएका थिए ।