काठमाडौँ महानगरले आयोजना गर्यो ‘जलवायुका लागि बालबालिका’ भिडियो प्रतियोगिता
काठमाडौँ महानगरपालिकाले विद्यालय उमेरका बालबालिकालाई लक्षित गर्दै ‘जलवायुका लागि बालबालिका’ शीर्षकमा भिडियो प्रतियोगिता आयोजना गरेको छ ।
महानगरपालिकाले एक सूचना जारी गर्दै ‘काठमाडौँ जलवायु कार्य सप्ताह–२०८३’ अन्तर्गत एक मिनेटसम्मको श्रव्यदृश्य प्रतियोगिता आयोजना गरेको जनाएको हो ।
जलवायु परिवर्तनका विश्वव्यापी असर न्यूनीकरण गर्न समुदायस्तरमा गर्न सकिने प्रयासको प्रवर्द्धन तथा क्षति न्यूनीकरणमा व्यक्ति र समुदायको जिम्मेवारीबारे सचेतना अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको महानगरले जनाएको छ ।
महानगरपालिकाले विभिन्न साझेदार संस्थाको सहकार्यमा मङ्सिर ७ देखि १३ गतेसम्म विभिन्न कार्यक्रमसहित ‘काठमाडौँ जलवायु कार्य सप्ताह’ आयोजना गर्दैछ ।
प्रतियोगितामा सामुदायिक तथा संस्थागत विद्यालयका कक्षा ६ देखि १२ सम्म अध्ययनरत विद्यार्थीले सहभागिता जनाउन पाउनेछन् ।
प्रतियोगितामा प्रथम हुनेले ५० हजार रुपैयाँ, दोस्रो हुनेले ३० हजार रुपैयाँ र तेस्रो हुनेले २० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । यस्तै, सात जनालाई जनही १० हजार रुपैयाँका दरले सान्त्वना पुरस्कार प्रदान गरिने महानगरले जनाएको छ ।
महानगरपालिकाले प्रतियोगितामा सहभागी हुन इच्छुक सम्पूर्ण विद्यार्थीलाई आह्वान गरेको छ ।