हुसैन तलातको अविजित अर्धशतकमा कर्णालीले चितवनलाई दियो १५४ रनको लक्ष्य
नेपाल प्रिमियर लिग (एनपिएल) सिजन–३ अन्तर्गत चितवन राइनोजविरुद्ध कर्णाली याक्सले १५३ रन बनाएको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५३ रन बनाएको हो । यससँगै चितवनले जितका लागि १५४ रनको लक्ष्य पाएको छ ।
कर्णालीका लागि हुसैन तलातले अविजित अर्धशतकीय इनिङ्स खेले । उनले ३३ बलमा २ चौका र ३ छक्काको मद्दतले ५१ रन बनाए ।
त्यस्तै, ओपनर अरिफुल इस्लामले आक्रामक ब्याटिङ गर्दै १५ बलमा ४ चौका र २ छक्कासहित ३५ रन जोडे । गुल्सन झाले ६ बलमा १८ रन बनाए । उनले १ चौका र २ छक्का प्रहार गरे ।
पवन सर्राफले २१ बलमा १५, दीपक दुम्रेले १० बलमा ७, डेभिड मिलरले ८ बलमा ५, सोमपाल कामीले ९ बलमा ४ र मार्क वाटले १५ बलमा ६ रन बनाए । नन्दन यादव २ रनमा अविजित रहे ।
चितवनका बलर कमल ऐरी, सलाहुद्दिन खान र उसामा मिरले समान २ विकेट लिए । सिकन्दर रजा र रिजन ढकालले १–१ विकेट हात पारे ।
कर्णालीले पावरप्लेमा ३ विकेट गुमाएर ४६ रन बनाएको थियो । एक समय ६९ रनमा ५ विकेट गुमाएर दबाबमा परेको कर्णालीलाई तलातले सम्हाल्दै टोलीको योगफल १५० रन पार गराएका थिए ।
प्रतियोगिताको शीर्ष चारमा पुग्ने सम्भावना गुमाइसकेको कर्णालीका लागि यो खेल प्रतिष्ठाको विषय बनेको छ । यता चितवनले एलिमिनेटर खेल्ने निश्चित गरिसकेको छ भने शीर्ष दुईमा पुग्ने सम्भावना गुमाइसकेको छ ।