सुदूरपश्चिमले काठमान्डु गोर्खाजलाई दियो १२६ रनको लक्ष्य
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले काठमान्डु गोर्खाजलाई १२६ रनको लक्ष्य दिएको छ ।
टियु क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १२५ रन बनाएको हो ।
सुदूरपश्चिमको सुरुवात निकै खराब रह्यो । ओपनर स्कट कुगलेइनले ६ रन बनाउँदा विनोद भण्डारी १ रनमै आउट भए । त्यसपछि आएका ब्रेन्डन म्याकमुलेन र ईशान पाण्डेले खाता नै खोल्न सकेनन् । दुवैलाई काठमान्डुका बलर सन्तोष यादवले पभेलियन फर्काए ।
सुरुवाती ब्याटर सस्तैमा आउट भएपछि कप्तान दीपेन्द्र सिंह ऐरी र आरिफ शेखले इनिङ्स सम्हाल्ने प्रयास गरे । आरिफले २५ बलमा १६ रन बनाएर रनआउट भए ।
कप्तान ऐरीले भने उत्कृष्ट ब्याटिङ गर्दै ६० रनको अर्धशतकीय पारी खेले । यस्तै, थरिन्दु रत्नायकेले अविजित २६ रनको योगदान दिए ।
बलिङतर्फ काठमान्डु गोर्खाजका जहानदाद खानले सर्वाधिक तीन विकेट लिए भने सन्तोष यादवले दुई विकेट हात पारे । अब काठमान्डु गोर्खाजले जितका लागि १२६ रन बनाउनुपर्नेछ ।