रवि लामिछानेद्वारा धनुषा र महोत्तरीका विभिन्न मन्दिरमा पूजाआजा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले धनुषा र महोत्तरीका विभिन्न धार्मिकस्थलमा पूजाआजा गरेका छन्। छठ पर्व मनाउन पत्नी निकिता पौडेलसहित जनकपुरधाम आएका सभापति लामिछानेले आइतबार बिहान जानकी मन्दिरमा पूजाआजा गरेका हुन्।
त्यसैगरी, उनले धनुषाको मुखियापट्टि मुसहरनिया गाउँपालिकास्थित लक्ष्मीनारायण मन्दिर, महोत्तरीको जलेश्वरस्थित जलेश्वरनाथ मन्दिर र मटिहानीस्थित लक्ष्मीनारायण मन्दिरमा समेत पूजाआजा गरेको रास्वपाका जिल्ला नेता अम्बुप्रसाद साहले जानकारी दिए।
साहका अनुसार सभापति लामिछाने आइतबार अपराह्न जनकपुरधामस्थित गङ्गासागरमा आयोजना हुने छठ कार्यक्रममा समेत सहभागी हुने कार्यक्रम रहेको छ।