अमेरिकाका लागि रुसी राजदूत डार्चिभको ६६ वर्षको उमेरमा निधन
अमेरिकाका लागि रुसी राजदूत अलेक्जान्डर डार्चिभको ६६ वर्षको उमेरमा निधन भएको छ। रुसको विदेश मन्त्रालयले बुधबार उनको निधन भएको पुष्टि गरेको हो।
डार्चिभले सन् २०२५ मार्चदेखि अमेरिकाका लागि रुसी राजदूतको जिम्मेवारी सम्हाल्दै आएका थिए। उनको निधनको कारण भने सार्वजनिक गरिएको छैन।
रुसी विदेश मन्त्रालयले उनलाई अनुभवी कूटनीतिज्ञ, कुशल नेता र सहयोगी सहकर्मीका रूपमा स्मरण गरेको छ। अमेरिकी विदेश मन्त्रालयले पनि उनको निधनप्रति दुःख व्यक्त गर्दै परिवार तथा आफन्तजनमा समवेदना प्रकट गरेको छ।
डार्चिभले यसअघि सन् २०१४ देखि २०२१ सम्म क्यानडाका लागि रुसी राजदूतका रूपमा काम गरेका थिए। त्यसपछि सन् २०२१ देखि २०२४ सम्म रुसी विदेश मन्त्रालयको उत्तर अमेरिका विभागको निर्देशकको जिम्मेवारी सम्हालेका थिए।
सन् २०२२ मा रुसले युक्रेनमाथि आक्रमण गर्दा उनले त्यसलाई ‘आवश्यक कदम’ को संज्ञा दिएका थिए।