अन्तरिक्ष शक्तिमा चीनको तीव्र विस्तार, अमेरिकी सुरक्षामा चुनौती बढेको डिआइएको प्रतिवेदन
बेइजिङ- चीनले अन्तरिक्ष क्षेत्रमा सैन्य तथा रणनीतिक क्षमता विस्तार गर्दै अमेरिकी अन्तरिक्ष प्रभुत्वलाई चुनौती दिइरहेको अमेरिकी रक्षा गुप्तचर निकाय (डिआइए) को प्रतिवेदनले जनाएको छ ।
प्रतिवेदनअनुसार चीनले उपग्रह निगरानी, प्रतिउपग्रह क्षेप्यास्त्र, साइबर आक्रमण तथा शक्तिशाली लेजर प्रविधि विकास गरिरहेको छ । यसले अमेरिका र उसका सहयोगीका अन्तरिक्ष प्रणालीमा जोखिम बढाउन सक्ने उल्लेख गरिएको छ ।
अक्टोबर २०२६ को अन्त्यमा सार्वजनिक १३० पृष्ठ लामो प्रतिवेदनले चीन, रुस, इरान र उत्तर कोरियालाई अमेरिकी अन्तरिक्ष सुरक्षाका प्रमुख चुनौतीका रूपमा औँल्याएको छ ।
प्रतिवेदनअनुसार चीनले सन् २०१६ मा २२ वटा अन्तरिक्ष प्रक्षेपण गरेकोमा सन् २०२५ मा ९३ वटा पुर्याएको छ । सन् २०२६ को मध्यसम्म चीनसँग ५१० भन्दा बढी गुप्तचर, निगरानी तथा अनुगमन (आईएसआर) उपग्रह रहेको उल्लेख छ ।
चीनको बेइडोउ नेभिगेसन प्रणालीमा ४९ उपग्रह रहेका र यसका दुई अर्बभन्दा बढी प्रयोगकर्ता रहेको प्रतिवेदनमा जनाइएको छ । यी प्रणालीले सैन्य गतिविधि निगरानी, हतियारको लक्ष्य निर्धारण तथा सञ्चारमा सहयोग पुर्याउन सक्ने बताइएको छ ।
डिआइएका अनुसार चीनले अन्य देशका उपग्रहलाई अवरुद्ध गर्ने, क्षति पुर्याउने तथा नष्ट गर्न सक्ने क्षमता पनि विस्तार गरिरहेको छ । ताइवानलाई लिएर क्षेत्रीय द्वन्द्व भएमा चीनले अमेरिकी हस्तक्षेप रोक्न यस्ता क्षमता प्रयोग गर्न सक्ने प्रतिवेदनको आकलन छ ।
आगामी दशकमा चीन र रुसले पुनः प्रयोग गर्न मिल्ने अन्तरिक्ष प्रणाली तथा कृत्रिम बौद्धिकता (एआई) प्रविधि विकास गरे अन्तरिक्ष सुरक्षामा चुनौती थप बढ्न सक्ने डिआइएले चेतावनी दिएको छ ।