भारतसँगको यू–१९ महिला टी–२० शृङ्खलाका लागि नेपाली टोली घोषणा
काठमाडौँ । भारतसँग हुने यू–१९ महिला टी–२० क्रिकेट शृङ्खलाका लागि नेपाली टोली घोषणा गरिएको छ। नेपाल क्रिकेट सङ्घ (क्यान)ले सोनी पाख्रिनको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो।
आगामी नोभेम्बर १२ देखि २२ तारिखसम्म सञ्चालन हुने शृङ्खलाका लागि घोषित टोलीमा कप्तान सोनीसहित रचनाकुमारी चौधरी, रिया शर्मा, प्रिन्सा रानामगर, टीका साह, अञ्जिला पाठक, साक्षी यादव, सावित्री धामी, मनिषा चौधरी, आशिकाकुमारी महरा, आस्ना चौधरी, प्रथा श्रेष्ठ, ज्योत्स्निका मरासिनी, पूर्णिमा राजवंशी र तिर्सना विश्वकर्मा रहेका छन्।
नेपाली टोली आगामी वर्ष आयोजना हुने यू–१९ महिला विश्वकपको तयारीका लागि भारत भ्रमणमा जान लागेको हो। यसअघि विश्वकपकै तयारीस्वरूप नेपाली टोलीले चीन भ्रमण गरेको थियो।
चीनमा आयोजित प्रतियोगितामा नेपाली युवा महिला टोलीले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जितेको थियो। भारतसँगको शृङ्खलालाई पनि विश्वकप तयारीका रूपमा हेरिएको छ।