टर्कीको स्टिल कारखानामा विस्फोटपछि आगलागी, तीन जनाको मृत्यु, १० बेपत्ता
पश्चिमी टर्कीको इज्मिर प्रान्तस्थित हाबास स्टिल कारखानामा विस्फोटपछि भएको आगलागीमा परी तीन जनाको मृत्यु भएको छ भने १० जना बेपत्ता भएका छन् ।
सोमबार भएको विस्फोटमा १४ जना कामदार घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको अधिकारीहरूले जनाएका छन् ।
प्रारम्भिक जानकारीअनुसार तरल स्टिल ढाल्ने क्रममा क्रेन भट्टीमा खसेपछि विस्फोट भएको हो । घटनापछि आगो नियन्त्रणमा लिने र भग्नावशेषमा फसेका कामदारको खोजी तथा उद्धार कार्य जारी रहेको छ ।
घटनाबारे अनुसन्धान सुरु गरिएको अधिकारीहरूले बताएका छन् ।