आज देशभर भाइटीका मनाइँदै, उत्तम साइत बिहान ११:०७ बजे
काठमाडौं– नेपालीहरूको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज बुधबार देशभर भाइटीका पर्व हर्षोल्लासका साथ मनाइँदै छ। दिदीबहिनीले आफ्ना दाजुभाइको दीर्घायु, सुस्वास्थ्य, सुख, शान्ति र समृद्धिको कामना गर्दै सप्तरङ्गी वा पञ्चरङ्गी टीका लगाएर यो पर्व मनाउने परम्परा छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार भाइटीका लगाउन आज दिनभर कुनै बाधा छैन। तर, शुभ साइतमा टीका लगाउन चाहनेका लागि बिहान ११ बजेर ७ मिनेटको समय उत्तम रहेको समितिले जनाएको छ। यस वर्ष टीका लगाइमाग्ने दाजुभाइ पश्चिम फर्किने र लगाइदिने दिदीबहिनी पूर्व फर्किनुपर्ने छ।
यमपञ्चकको पाँचौँ दिन मनाइने भाइटीकामा दिदीबहिनीले दाजुभाइलाई सप्तरङ्गी टीका तथा मखमली, सयपत्री र गोदावरी फूलका माला लगाइदिने गर्छन्। टीका लगाउनुअघि दाजुभाइलाई तेलको धाराले छेक्ने धार्मिक तथा सांस्कृतिक परम्परा पनि छ।
टीका लगाएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला र सेलरोटीलगायतका परिकार दिने गर्छन्। त्यसैगरी दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार कपडा तथा दक्षिणा दिएर सम्मान प्रकट गर्ने चलन छ।
भाइटीका दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, सद्भाव र आत्मीय सम्बन्धलाई प्रगाढ बनाउने पर्वका रूपमा मनाइन्छ। धार्मिक मान्यताअनुसार यस दिन दिदीबहिनीले दाजुभाइको पूजा गरी टीका लगाइदिँदा उनीहरूको दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्त हुने विश्वास गरिन्छ।