एनपीएलको तेस्रो संस्करण सुरु हुँदै, प्रधानमन्त्री शाहद्वारा शुभकामना व्यक्त
प्रधानमन्त्री वालेन्द्र शाहले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु हुन लागेको अवसरमा प्रतियोगितामा सहभागी सम्पूर्ण टोलीलाई शुभकामना व्यक्त गरेका छन्।
प्रधानमन्त्री शाहले सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतियोगिताको सफल आयोजनाका लागि नेपाली खेलाडी, आयोजक तथा नेपाल क्रिकेट संघ (क्यान) लाई हार्दिक शुभकामना दिएका हुन्।
उनले प्रतियोगितामा सहभागी हुन नेपाल आएका अन्तर्राष्ट्रिय खेलाडी तथा कमेन्टेटरहरूलाई समेत स्वागत गरेका छन्।
प्रधानमन्त्री शाहले एनपीएल छोटो समयमै ठूलो खेलकुद महोत्सवका रूपमा विकसित हुँदै गएको उल्लेख गर्दै नेपाली क्रिकेटको उज्ज्वल भविष्यको कामना गरेका छन्।
नेपाली क्रिकेटको प्रवर्द्धन, खेलाडीको क्षमता अभिवृद्धि तथा अन्तर्राष्ट्रिय स्तरमा नेपालको पहिचान स्थापित गर्न एनपीएलले महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ। प्रतियोगिताले घरेलु क्रिकेटमा दर्शकको आकर्षण बढाउनुका साथै नेपाली खेलाडीलाई अन्तर्राष्ट्रिय खेलाडीसँग प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्दै आएको छ।
प्रधानमन्त्री शाहले नेपाली क्रिकेटको विकास र सफलताको कामना गर्दै ‘नेपाली क्रिकेट अमर रहोस्’ भन्ने सन्देशसमेत दिएका छन्।