सार्वजनिक शान्तिविरुद्धको कसुरमा गोलबजारका वडाध्यक्ष अनवर पक्राउ
सिरहाको गोलबजार नगरपालिका–११, बलकावाका वडाध्यक्ष सोहेब अनवर सार्वजनिक शान्तिविरुद्धको कसुरमा पक्राउ परेका छन्। उनलाई आइतबार राति गोलबजारबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता रमेशबहादुर पालका अनुसार गत साउन १० गते सुनसरीको देवानगञ्ज र साउन १४ गते सिरहाको गोलबजारमा भएका तोडफोड, आगजनी तथा सार्वजनिक शान्तिविरुद्धका घटनामा संलग्न रहेको आरोपमा अनवरविरुद्ध मुद्दा दर्ता गरिएको थियो।
गोलबजारमा भएको तोडफोड तथा आगजनीको घटनामा अनवरको मुख्य भूमिका रहेको आरोप लगाउँदै ‘हिन्दु सम्राट् सेना’ नामक संस्थासँग आबद्ध केही व्यक्तिले करिब दुई महिनाअघि प्रहरीमा जाहेरी दिएका थिए। सोही जाहेरीका आधारमा प्रहरीले उनीविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसुरमा मुद्दा दर्ता गरेको हो।
प्रहरीका अनुसार अनवर पछिल्लो समय कहिले ससुरालीमा त कहिले अन्य स्थानमा लुकिछिपी बस्दै आएका थिए। उनी घर आएको अवस्थामा पनि प्रहरीबाट बच्न लुक्ने गरेको सूचनाका आधारमा खोजतलास गरी पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका वडाध्यक्ष अनवरको घटनामा संलग्नताबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।