दोस्रो झापा महिला गोल्डकप मङ्सिर ५ देखि, विजेतालाई ११ लाख पुरस्कार
दोस्रो संस्करणको झापा महिला आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिता आगामी मङ्सिर ५ देखि १२ गतेसम्म सञ्चालन हुने भएको छ। झापाको दूधे रङ्गशालामा आयोजना हुने प्रतियोगिताबारे आयोजक झापा महिला गोल्डकपले आइतबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो।
प्रतियोगितामा नेपालका तीन विभागीय टोलीसहित आठ टोलीको सहभागिता रहने आयोजक समितिका अध्यक्ष सन्तोष थापाले जानकारी दिए। उनका अनुसार प्रतियोगितामा नेपाल पुलिस क्लब, नेपाली सेना र सशस्त्र प्रहरी बलका टोलीसँगै भारत, भूटान र अर्को एक विदेशी टोली, एक ए डिभिजन क्लब तथा आयोजक टोली सहभागी हुनेछन्।
आयोजकले कोशी प्रदेशका महिला खेलाडी छनोट गरेर आफ्नै टोली निर्माण गर्ने जनाएको छ।
प्रतियोगिताको विजेताले ११ लाख रुपैयाँ र उपविजेताले पाँच लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। त्यस्तै, सर्वोत्कृष्ट खेलाडीले एक लाख ५० हजार रुपैयाँ पाउनेछन्।
उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, प्रशिक्षक तथा सर्वाधिक गोलकर्तालाई जनही २५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने अध्यक्ष थापाले जानकारी दिए। प्रतियोगिताको प्रत्येक खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई समेत १५ हजार रुपैयाँ प्रदान गरिनेछ।
आयोजकका अनुसार प्रतियोगिता सञ्चालनका लागि एक करोड २५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। प्रतियोगितालाई लक्षित गर्दै दूधे रङ्गशालाको स्तरोन्नति भइरहेको छ भने दर्शकका लागि बाँसको अस्थायी प्यारापिट निर्माण गरिनेछ।
महिला फुटबलको विकास र खेलाडीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना हुन लागेको प्रतियोगिताले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा महिला फुटबलको प्रवर्द्धनमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।