बाढीले सिंगा तातोपानी कुण्डमा क्षति, मुख्य याममै बन्द
म्याग्दी । असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षापछि म्याग्दी नदीमा आएको बाढीले बेनी नगरपालिका–४ स्थित प्रसिद्ध सिंगा तातोपानी कुण्डमा क्षति पुर्याएको छ।
बाढीले उपचारका लागि प्रयोग हुने ठूलो तथा माथिल्लो पोखरीमा हिलो र लेदो थुपारेको छ भने पर्यटकका लागि सञ्चालित सानो पोखरीसमेत भत्किएको छ। कपडा परिवर्तन गर्ने भवन, तातोपानी भण्डारण गर्ने ट्याङ्कीका संरचना र खुला स्नानस्थल पहिरोले भत्काउनुका साथै पुरिएका छन्।
क्षतिका कारण तत्काल स्नान गर्न सकिने अवस्था नरहेपछि तातोपानी कुण्ड बन्द गरिएको व्यवस्थापन समितिले जनाएको छ। पोखरीमा थुप्रिएको हिलो र लेदो पन्छाएर कुण्ड सञ्चालनमा ल्याउने तयारी भइरहेको छ।
समितिको निर्णयअनुसार तातोपानीवासीले श्रमदानमार्फत सरसफाइ तथा मर्मतको काम सुरु गर्ने भएका छन्। कुण्डको पुनर्निर्माण तथा संरक्षणका लागि स्थानीय, प्रदेश र संघीय सरकारसँग सहयोगको अपेक्षा गरिएको छ।
असोज–कात्तिक तातोपानी कुण्डमा स्नान गर्ने मुख्य याम हो। यही समयमा कुण्ड बन्द भएपछि तातोपानी बजारका होटल, रेष्टुरेन्ट तथा होमस्टे व्यवसायसमेत प्रभावित भएका छन्। यहाँ प्राकृतिक उपचारका लागि नेपालका विभिन्न जिल्लासहित विदेशबाट समेत वार्षिक २० हजारभन्दा बढी मानिस आउने गरेको व्यवस्थापन समितिले जनाएको छ।