आज एकादशी, आफन्तजनबाट टीका र आशीर्वाद थाप्ने क्रम जारी
विजयादशमीका दिन टीका थाप्न नभ्याएका आफन्त तथा छोरीचेलीहरूका लागि आज पनि दसैँको टीका लगाउने क्रम जारी छ ।
नेपाली समाजका कतिपय स्थानमा आश्विन शुक्ल एकादशी अर्थात् पापाङ्कुशा एकादशीदेखि कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने परम्परा रहिआएको छ ।
दसैँको मुख्य दिन विजयादशमीमा घर पुग्न नसकेका छोरीचेली, आफन्त तथा टाढा रहेका परिवारका सदस्यहरू यस अवधिमा टीका थाप्न आउने गर्छन् । पारिवारिक भेटघाट तथा आपसी सद्भावलाई निरन्तरता दिने उद्देश्यले विजयादशमीपछि पनि घरघरमा टीका लगाउने र आशीर्वाद लिने क्रम चल्ने गरेको छ ।
यस परम्पराले दसैँको अवसरमा टाढिएका परिवारका सदस्य तथा आफन्तबीच भेटघाट गर्ने र पारिवारिक सम्बन्धलाई थप प्रगाढ बनाउने अवसर प्रदान गर्छ ।