राष्ट्रपति पौडेलद्वारा शीतल निवासमा नवकन्याको पूजाअर्चना
राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ को अवसरमा नवकन्याको विधिपूर्वक पूजाअर्चना गरेका छन्। मङ्गलबार राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेलले प्रथम महिला सबिता पौडेलसहित नौ जना कन्याको पूजाअर्चना गरेका हुन्।
बडादसैँका अवसरमा नवदुर्गाका नौ स्वरूपको प्रतीकका रूपमा नौ जना कन्याको पूजा गर्ने परम्परा छ। सोही परम्पराअनुसार राष्ट्रपति पौडेलले नवकन्याको गोडा धोएर, टीका लगाइदिँदै उपहारसमेत प्रदान गरेका छन्।
हिन्दू धर्मशास्त्रअनुसार नवदुर्गाका नौ स्वरूप शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्री हुन्। बडादसैँमा यी नौ स्वरूपको विधिपूर्वक पूजाअर्चना गर्ने धार्मिक परम्परा रहेको छ।