आज विजयादशमी, मान्यजनबाट टीका र जमरा लगाएर दसैँ मनाइँदै
नेपालीहरूको महान् चाड बडादसैँको मुख्य दिन आज विजयादशमी हर्षोल्लासका साथ मनाइँदै छ। आज मान्यजनको हातबाट नवदुर्गा भवानीको प्रसादस्वरूप रातो टीका र समृद्धिको प्रतीक पहेँलो जमरा ग्रहण गरी आशीर्वाद लिने परम्परा छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज बिहान ८ बजेर ४९ मिनेटमा विधिपूर्वक देवी विसर्जन गर्ने शुभ साइत रहेको छ। त्यस्तै, टीका लगाउनका लागि बिहान १० बजेर २६ मिनेटको समय उत्तम साइतका रूपमा तोकिएको छ। समितिका अनुसार टीका लगाइदिने व्यक्ति पूर्वतर्फ र टीका लगाइमाग्ने व्यक्ति पश्चिमतर्फ फर्किनुपर्नेछ।
घटस्थापनाका दिन विधिपूर्वक स्थापना गरिएको जमरा र रातो टीका आज घरका मूल तथा ज्येष्ठ सदस्यबाट लगाएर आशीर्वाद लिने गरिन्छ। दसैँको अवसरमा टाढा रहेका आफन्त तथा परिवारका सदस्यहरू एकै ठाउँमा भेला भई खुसी साटासाट गर्ने र बन्धुबान्धवसँग मिलेर भगवतीको प्रसाद ग्रहण गर्ने चलन छ।
दसैँको टीकाले परिवारका सदस्यहरूलाई एकै ठाउँमा जोड्नुका साथै आपसी प्रेम, सम्मान, मेलमिलाप र सद्भाव अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेल्छ। यस पर्वले आफन्त, छिमेकी तथा समुदायबीच भाइचारा र एकताको भावना बलियो बनाउने विश्वास गरिन्छ।
विजयादशमीको धार्मिक तथा पौराणिक महत्त्व मार्कण्डेय पुराणअन्तर्गतको ‘देवीमाहात्म्य’ मा समेत वर्णन गरिएको छ। नवरात्रभर देवी दुर्गाको आराधना, चण्डीपाठ तथा धार्मिक अनुष्ठान गरी दसैँको मुख्य दिन ज्येष्ठ सदस्यबाट टीका र जमरा लगाएर आशीर्वाद लिने परम्परा रहिआएको छ।
धार्मिक मान्यताअनुसार विजयादशमीलाई देवी दुर्गाले महिषासुरमाथि र भगवान् श्रीरामले रावणमाथि विजय प्राप्त गरेको दिनका रूपमा मनाइन्छ। यसले असत्यमाथि सत्य, अधर्ममाथि धर्म र अन्यायमाथि न्यायको विजयको सन्देश दिने विश्वास गरिन्छ।
दसैँमा लगाइने रातो टीकालाई शक्ति, विजय, सौभाग्य र मङ्गलको प्रतीक मानिन्छ भने पहेँलो जमरालाई उर्वरता, जीवनशक्ति र समृद्धिको प्रतीकका रूपमा लिइन्छ। यस दिन भगवतीलाई अर्पण गरिएका वस्त्र प्रसादस्वरूप धारण गर्ने परम्परा पनि रहेको छ।
विजयादशमीको अवसरमा देशभरका नेपालीले परिवार तथा आफन्तसँग भेटघाट गर्दै, टीका र जमरा ग्रहण गरी सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामनासहित दसैँ मनाइरहेका छन्।