बागलुङमा वृद्ध महिलाको ८ लाखको सुनको सिक्री लुटपाट, दुई जना पक्राउ
बागलुङ नगरपालिका–२ हल्लनचोकमा वृद्ध महिलाको घाँटीमा लगाएको सुनको सिक्री लुटपाट गरी भाग्दै गरेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका–२० का १९ वर्षीय रबिन कुमार यादव र १८ वर्षीय प्रकाश राय यादव रहेका छन्।
जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार कात्तिक २ गते दिउँसो १:०९ बजे हल्लनचोकमा जीवन पुनकी ७० वर्षीया आमा कृष्णमाया पुनको घाँटीमा लगाएको सुनको सिक्री लुटपाट भएको थियो। उनीहरूले २.७८ तोला तौलको सिक्री लुटेर भागेका थिए। उक्त सिक्रीको मूल्य ८ लाख ६ हजार २०० रुपैयाँ रहेको प्रहरीले जनाएको छ।
घटनापछि खोजतलास गर्ने क्रममा प्रहरीले बागलुङ नगरपालिका–२ हल्लनचोकबाटै दुवै जनालाई फेला पारेको थियो। उनीहरूको खानतलासी गर्दा लुटिएको सुनको सिक्रीसमेत बरामद भएको प्रहरीले जनाएको छ।
सिक्री बरामद भएपछि दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको छ। अनुसन्धानका लागि बागलुङ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिएका छन्।