झापामा जङ्गली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु
झापामा जङ्गली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बाह्रदशी गाउँपालिका–२, जनता चोक निवासी ७० वर्षीया लजुमा खातुन र ७३ वर्षीय झक्कु राजवंशी रहेका छन्।
जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी रञ्जन अवालेका अनुसार उनीहरू बिहान प्रातःकालीन पदयात्रामा निस्किएका बेला बिरिङ खोला नजिक दुईवटा जङ्गली हात्तीले बिहान करिब ५ः३० बजे अचानक आक्रमण गरेका थिए।
हात्तीको आक्रमणबाट घाइते भएकी खातुनलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। त्यस्तै, राजवंशीको उपचारका क्रममा बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा मृत्यु भएको हो।
घटनापछि स्थानीय क्षेत्रमा त्रास फैलिएको छ। जङ्गली हात्तीको आक्रमणबाट दुई जनाको ज्यान गएपछि स्थानीयलाई सतर्कता अपनाउनुपर्ने देखिएको छ।