भारत लैजाँदै गरेका २५ नेपाली बालबालिकाको उद्धार
भारतको देहरादुनतर्फ लैजाँदै गरेका २५ नेपाली बालबालिकाको भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले उद्धार गरेको छ।
राष्ट्रिय बाल अधिकार परिषद्का अनुसार उद्धार गरिएका बालबालिका ६ देखि १६ वर्ष उमेर समूहका छन्। उनीहरूलाई पढाइदिने भन्दै भारत लैजान लागिएको पाइएको परिषद्ले जनाएको छ।
उद्धार गरिएका बालबालिकामध्ये हुम्लाको सिमकोट गाउँपालिकाका २४ जना र अछामका एक जना छन्। उनीहरूमध्ये १६ जना बालक र नौ जना बालिका रहेका छन्।
भारतीय सीमा सुरक्षा बलले बालबालिकालाई रोकेर नेपाल प्रहरीको जिम्मा लगाएको जनाइएको छ।
परिषद्ले सरकारी निकायको स्वीकृतिबिना बालबालिकालाई गैरकानुनी रूपमा विदेश लैजाने कार्यमा संलग्न व्यक्तिमाथि प्रचलित कानुनअनुसार कारबाही गर्न आग्रह गरेको छ। साथै, उद्धार गरिएका बालबालिकालाई सुरक्षित रूपमा परिवारसँग पुनर्मिलन गराउन सम्बन्धित निकायलाई अपिल गरेको छ।
नेपालको संविधान र प्रचलित कानुनले बालबालिकाको गैरकानुनी ओसारपसारलाई निषेध गरेको छ। बालबालिकाको अधिकार संरक्षण गर्दै उनीहरूलाई सुरक्षित पारिवारिक वातावरणमा हुर्कन पाउने व्यवस्था सुनिश्चित गरिएको छ।