एमाले बैठकमै ओलीको राजीनामा माग, नेतृत्व हस्तान्तरण गर्न पदाधिकारीको आग्रह
नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमै केही पदाधिकारीले अध्यक्ष केपी शर्मा ओलीको राजीनामा माग गर्दै नेतृत्व हस्तान्तरण गर्न आग्रह गरेका छन्।
अध्यक्ष ओलीले पार्टीलाई मनोमानी ढंगले सञ्चालन गरेको र यही कार्यशैली कायम रहे पार्टी अघि बढ्न नसक्ने भन्दै उनीहरूले मार्गप्रशस्त गर्न आग्रह गरेका हुन्।
उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले एमाले कसैको निजी कम्पनी नभएको भन्दै वर्तमान शैलीमा पार्टी सञ्चालन हुन नसक्ने बताएका छन्। त्यस्तै, उपाध्यक्षद्वय गोकर्ण विष्ट र रघुजी पन्तले पनि पार्टी सञ्चालनको वर्तमान शैलीप्रति आपत्ति जनाउँदै ओलीले मार्गप्रशस्त गर्नुपर्ने धारणा राखेका छन्।
उपमहासचिव योगेश भट्टराईले समेत लिखित र मौखिक रूपमा ओलीको राजीनामा माग गर्दै नेतृत्व हस्तान्तरणको प्रस्ताव अघि सारेका छन्।
पार्टी सचिव तथा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले वर्तमान रवैया कायम रहे पार्टी झन् कमजोर हुने भन्दै प्रदेश तथा स्थानीय तहको निर्वाचनलाई ध्यानमा राखेर नेतृत्वले मार्गप्रशस्त गर्नुपर्ने बताएका छन्।
अर्का सचिव यामलाल कँडेलले ओलीको नेतृत्वमा एमाले अब अघि बढ्न नसक्ने धारणा राख्दै बैठक सञ्चालन र निर्णय प्रक्रियाको शैलीप्रति समेत आपत्ति जनाएका छन्। उनले अध्यक्ष ओलीलाई पदमा बसिरहने नैतिक अधिकार नरहेको बताएका छन्।